काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देशको समग्र रूपान्तरणका लागि कांग्रेसलाई मतदान गर्न आग्रह गरेका छन्।
शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टीभित्र जनचाहनाअनुसार परिवर्तन आएको दाबी गरे। कांग्रेस अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दृष्टिकोणसहित अघि बढेको भन्दै उनले यही परिवर्तित कांग्रेसले देशलाई पनि रूपान्तरणको दिशामा लैजान सक्ने बताए।
उनले मतदातालाई सम्बोधन गर्दै भने, “जनताले जुन प्रकारको कांग्रेस चाहेका थिए, त्यही रूप अहिले पार्टीमा देखिएको छ। अब यही परिवर्तित कांग्रेसले मुलुकलाई नयाँ दिशातर्फ लैजान चाहन्छ। त्यसका लागि कांग्रेसलाई मत दिएर शक्ति र समर्थन दिनु आवश्यक छ।”
महामन्त्री पौडेलले कांग्रेसमा अहिले अनुभवी र परिपक्व युवा पुस्ताको नेतृत्व स्थापित भएकाले देशमा सकारात्मक परिवर्तन सम्भव भएको धारणा राखे। उनका अनुसार केवल आवेगमा आधारित राजनीति होइन, सोच, विवेक र परिपक्वताबाट मात्रै मुलुक सही दिशामा अगाडि बढ्न सक्छ।
उनले लोकतन्त्र स्थापनाको आन्दोलनदेखि सक्रिय रहेका नेताहरू अहिले नेतृत्व तहमा पुगेको उल्लेख गर्दै कांग्रेसको नेतृत्व ऐतिहासिक अनुभव र आधुनिक सोचको संयोजन भएको बताए।
काठमाडौँ क्षेत्र नम्बर ५ बाट कांग्रेसका उम्मेदवारसमेत रहेका पौडेलले पार्टीका नेता तथा कार्यकर्तालाई पनि देशको रूपान्तरणको अभियानमा कांग्रेसको पक्षमा जनमत सिर्जना गर्न सक्रिय रूपमा लाग्न निर्देशन दिए।