निर्वाचनमा करिब ३१ अर्ब रुपैयाँ खर्च हुने अनुमान : प्रधानमन्त्री कार्की

नवलपुर– प्रधानमन्त्री सुशीला कार्कीले आउँदो निर्वाचनमा झण्डै ३१ अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको जानकारी दिएकी छन्। राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुन नवलपुर पुगेकी प्रधानमन्त्री कार्कीले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सरकारले निर्वाचन निर्धारित मितिमै सम्पन्न गराउन सक्रिय रूपमा काम गरिरहेको स्पष्ट पारिन्। उनका अनुसार निर्वाचन फागुन २१ गते नै हुने छ।

चुनाव सर्ने हल्लाबारे पत्रकारको प्रश्नमा उनले स्पष्ट रूपमा भनिन्, “निर्वाचन सार्ने कुनै कारण छैन। अहिले ३१–३२ अर्ब रुपैयाँ खर्च भइरहेको छ। यस्तो खर्च हरेक समय हुँदैन। निर्वाचनका लागि आवश्यक भौतिक साधन, पूर्वाधार र विभिन्न अभाव पूरा गर्न ठूलो रकम खर्च भइरहेको छ। विभिन्न मित्र राष्ट्रबाट प्राप्त सहयोग पनि यही प्रयोजनका लागि प्रयोग भइरहेको छ, नत्र त्यो सहयोग अन्य क्षेत्रमा जान्थ्यो।”

प्रधानमन्त्री कार्कीले कुनै पनि हालतमा निर्वाचन सम्पन्न गरिने र नयाँ जनप्रतिनिधि चयन भएपछि लोकतान्त्रिक प्रक्रियाअनुसार नयाँ सरकारलाई सत्ता हस्तान्तरण गरिने प्रतिबद्धता व्यक्त गरिन्।

उनले यदि कतिपय स्थानमा अपरिहार्य कारणले निर्वाचन रोकिए पनि दोस्रो चरणमार्फत भए पनि मतदान सम्पन्न गराइने बताइन्। हिमाली जिल्लामा चिसोका कारण समस्या आए सवारी साधन प्रयोग गर्न सकिने ठाउँसम्म मतदातालाई ओसारेर भए पनि निर्वाचन गरिने उनको भनाइ थियो।

प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित निर्वाचनका लागि सरकार पूर्ण रूपमा गम्भीर र सतर्क रहेको कुरा दोहोर्‍याइन्।

प्रतिक्रिया
सम्बन्धित समाचार