वित्तीय प्रणालीलाई प्रविधिमैत्री बनाउन राष्ट्र बैंक र आरबीआईको सहकार्य 

काठमाडौं । नेपालको वित्तीय प्रणालीलाई समयानुकूल आधुनिक र प्रविधिमैत्री बनाउन नेपाल राष्ट्र बैंकले भारतीय रिजर्भ बैंक (आरबीआई) सँगको प्राविधिक सहकार्यलाई थप तीव्र बनाएको छ ।

हालै मुम्बईस्थित भारतीय रिजर्भ बैंकको मुख्यालयमा गभर्नर डा. विश्वनाथ पौडेल र आरबीआईका गभर्नर संजय मल्होत्राबीच भएको भेटवार्तामा कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित सुपरीवेक्षण र सूचना प्रविधिको क्षेत्रमा भएका असल नीतिगत अभ्यासहरूका बारेमा गहन छलफल भएको जनाइएको छ ।

यस भ्रमणले विशेष गरी नेपालको बैंकिङ प्रणालीमा नवीन प्रविधिको एकीकरण र सीमापार डिजिटल भुक्तानीलाई प्राथमिकता दिएको छ । भेटका क्रममा नेपाली नागरिकहरूले भारत भ्रमण गर्दा क्यूआर (क्विक रेस्पोन्स) कोडमार्फत सहजै भुक्तानी गर्न सक्ने व्यवस्थालाई अझ सरल र प्रभावकारी बनाउने विषयमा सहमति जुटेको छ ।

यसका साथै मौद्रिक नीति, तरलता व्यवस्थापन र विदेशी विनिमय व्यवस्थापन जस्ता महत्त्वपूर्ण क्षेत्रमा आरबीआईले अपनाएका आधुनिक विधिहरू नेपालमा पनि लागु गर्न सकिने सम्भावनाबारे छलफल गरिएको थियो ।

संस्थागत क्षमता अभिवृद्धिका लागि राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभाग, भुक्तानी प्रणाली विभाग र बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशकहरूले आरबीआईका सम्बन्धित विभागहरूसँग प्राविधिक सहकार्य गर्ने विषयमा समेत आफ्ना धारणाहरू राखेका थिए ।

भ्रमणकै सिलसिलामा गभर्नर पौडेलले गुजरातको अहमदाबादस्थित ‘इन्टरनेसनल फाइनान्सियल सर्भिसेज सेन्टर्स अथोरिटी’का उच्च पदाधिकारीहरूसँग पनि भेट गरेका थिए । उक्त अवसरमा ‘गिफ्ट सिटी’को अवधारणा र यसको वर्तमान अवस्थादेखि लगानी प्रवर्द्धनका लागि चालिएका नीतिगत कदमहरूको बारेमा विस्तृत जानकारी लिइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार