ओभिएडोलाई ३–० ले हराउँदै शीर्ष स्थानमा फर्कियो बार्सिलोना 

काठमाडौं । पाहुना टिम रियाल ओभिएडोलाई ३–० ले हराउँदै बार्सिलोना पुनः स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ ।

आइतबार राति घरेलु मैदान क्याम्प नाउमा बार्सिलोनालाई जिताउन डानी ओल्मो, राफिन्हा र लामिन यमलले गोल गरे । बार्सिलोनाले तीनै गोल दोस्रो हाफमा गरेको हो ।

खेलको ५२औँ मिनेटमा ओल्मोको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो । ५७औँ मिनेटमा राफिन्हाले अग्रता दोब्बर बनाए । ७३औँ मिनेटमा यमलले उत्कृष्ट ‘एक्रोबेटिक’ गोल गरेपछि बार्सिलोनाले तीन गोलसँगै तीन अंक सुनिश्चित गरेको हो ।

भियारियाललाई हराउँदै यसअघि रियाल मड्रिड शीर्ष स्थानमा उक्लिएको थियो ।

जितसँगै ला लिगामा बार्सिलोनाले २१ खेलबाट ५२ अंक जोडेको छ । बार्सिलोनाभन्दा पछाडि रहेको रियालको ५१ अंक छ ।

आइतबार राति नै भएको अर्को खेलमा एट्लेटिको मड्रिडले रियाल मायार्कालाई ३–० ले पराजित गर्‍यो । डेपोर्टिभो एलाभेसले रियाल बेटिसलाई २–१ र रियाल सोडिडाडले सेल्टा भिगोलाई ३–१ ले हराएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार